रेडियाे मकवानपुरले गर्याे जागरुक महिला सम्मान
हेटौंडा । रेडियाे मकवानपुरले हेटाैँडँमा जागरुक महिला सम्मान गरेकाे छ ।
मकवानपुरका अग्रज राजनीतिकर्मी, साहित्यकार तथा स्वास्थ्यकर्मी तीर्थदेवी शिलवाल र बेचविखनमा परेर फर्किए पश्चात पनि अनवरत मानव बेचविखन विरुद्धको अभियानमा सक्रिय सुनमाया तामाङ जागरुक महिला सम्मानबाट सम्मानित भएका छन् ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा शिलवाल र तामाङलाई जनही नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको हो ।
रेडियोले तीजको अवसरमा दुइजना महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, बागमती प्रदेश प्रहरी प्रमुख (प्रहरी नायब महानिरीक्षक) किरण बज्राचार्य, रेडियो सञ्चालक सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली लगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।
कार्यक्रमकै अवसरमा मकवानपुरका अग्रज सञ्चारकर्मी एवम् गायिका सुनिता शर्मा लुईंटेल, रेडियो मकवानपुरका राजन दाहाल खुसराज र विजय पौडेललाई पनि सम्मान गरेको छ ।
कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले सामुदायको भावनालाई समेट्न दिव्यतारा सहकारी संस्थाले रेडियो सञ्चालन गरेको जानकारी दिँदै समाजमा योगदान पु¥याएका तर ओझेलमा परेकाहरुलाई सम्मान गर्दै जाने प्रतिबद्धता जनाइन् । महिलाहरु आयआर्जनमा जोडिनु जरुरी रहेको उनको सुझाव थियो ।
प्रहरी नायब महानिरीक्षक बज्राचार्यले बागमती प्रदेशमा आत्महत्या र लागूऔषध दुव्र्यसनको समस्या बढ्दो क्रममा रहेको भन्दै यसको न्यूनीकरणका लागि अभियान नै सञ्चालन गर्न जरुरी रहेको औंल्याइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष ललितबहादुर घलान, उपाध्यक्ष सानुकाजी लुइटेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष डा. गणेश लामा बल लगाएतको उपस्थिति रहेको थियो ।