आफ्नै कार्यकताबाट कार्यकक्षमै कुटिए हेटाैँडा ४ का वडा अध्यक्ष
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलमाथि कुटपिट भएको छ । नेकपा एमाले मकवानपुर जिल्ला सचिवसमेत रहेका सिग्देलमाथि मंगलबार दिउँसो एमालेकै जिल्ला सदस्यले हेटौंडा ४ हुप्राचौरस्थित कार्यकक्षमै कुटपिट गरेका हुन् ।
हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको सटर भाडामा दिनेबारे विवाद हुँदा सिग्देलमाथि एमाले जिल्ला सदस्य सानुलामा दोङले कुटपिट गरेका हुन् । भुटनदेवीको सटर भाडामा दिनेबारे लामो समयदेखि चर्चा हुँदै आएको छ । आफू कुटिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवश्यक कारबाहीका लागि सिग्देलले उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले सानुले आफूमाथि कुटपिट गरेको भन्दै वडा अध्यक्ष सिग्देलले उजुरी दर्ता गरेको बताए ।
‘उजुरी दर्ता गरेलगत्तै प्रहरीले सानुलाई पक्राउ गर्न खोजी गरेको थियो । उहाँको मोबाइल अफ छ, घरमा हुनुहुन्न । हामीले खोजी गरिरहेका छौं ।’ प्रवक्ता कार्कीले भने, ‘उहाँहरुको पार्टीगत कुरा रहेछ । आफूमाथि हातपात भएकाले कारबाहीको माग गर्दै वडाध्यक्षले उजुरी दिनुभएको छ । कुटपिट गर्ने लामालाई हामी खोजिरहेका छौं ।’
वडाध्यक्ष सिग्देलले आफूमाथि कुटपिट हुनु गलत भएको प्रतिक्रिया दिएका छन् । ‘म धेरै कुरा गर्न चाहन्नँ, ममाथि कुटपिट भएको छ, मैले उजुरी गरिसकेको छु, कानुनबमोजिम कारबाही हुनुपर्छ,’ सिग्देलले भने ।
दाेङ मकवानपुर खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष तथा एमाले मकवानपुरका सदस्य हुन् ।