अपहरण आरोपमा प्रहरी जवानसाहित २ जना पक्राउ
काठमाडौं । बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।
धादिङ घर भई बागलुङ नगरपालिका-१ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शंकर आचार्य र जैमिनी नगरपालिका-७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।
बागलुङ नगरपालिका वडानम्बर २ हल्लनचोकमा रहेकी सुहानालाई जबर्जस्ती गाडीमा राखेर प्रहरी जवान आचार्य र ती महिलाले बुद्ध विहारतिर लगेका थिए ।
प्रहरी नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए ।
बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन् ।
उनले आफू कार्यालयमै रहेको र श्रीमान् तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बालिकाकी आमा सपना थापाको भनाइ छ ।