बोस्टन तीज महोत्सव २०२२ को तयारी पूरा, सहभागिताका लागि चुले निम्तो

सुपेन्द्र बस्नेत
३ भाद्र २०७९, शुक्रबार ०८:५३

नेपालीहरुको धार्मिक तथा साँस्कृतिक महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीजको रौनक गाँउदेखि शहरसम्म, देशदेखि परदेशसम्म छाइरहेको छ। यस चाडको उत्साह र उमङ्गले महिलादेखि पुरुषसम्म भुरादेखि बुढासम्म सबैलाई प्रतक्ष्य अप्रतक्ष्य रुपमा छोइ सकेको छ।यसबाट अमेरिकाको मासाचुसेट्स राज्यमा बसोबास गर्ने नेपाली/नेपाली भाषी समुदाय पनि यसबाट अछुतो रहन सकेका छैनन्। केही वर्षदेखि कोरोना कहरका कारण सामूहिक तीज कार्यक्रमहरु प्रभावित हुदै आइरहेको थियो।तर, यस वर्ष भने अवस्था केही सहज भएका कारण तीजको लामो समयदेखिको तृष्णा, भरपूर मेटाउने गरी आवश्यक तयारी गरिएको आयोजकले जनाएको छ। बोस्टन स्थित नेपाली समुदायको संस्थाहरु ग्रेटर बोस्टन नेपाली समुदाय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गइरहेको ’बोस्टन तीज महोत्सव-२०२२’ को आवश्यक तयारी पूरा भएको आयोजकले जनाइएको छ। उक्त कार्यक्रम वाटर टाउन सिटीको सेन्ट जेम्स अर्मेनियन चर्च भवनमा, यही अगष्ट २० तारिख (शनिवार)का दिन हुन गइरहेको छ।
तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, साँस्कृतिक, परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्दै मनोरञ्जन गर्ने तीज महोत्सव-२०२२को मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
आयोजक संस्था गैर आवासीय नेपाली संघ, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भए अनुसार, महोत्सवको आवश्यक तयारी पूरा भएको छ। महोत्सवमा नेपाली पहिचानसहितका विभिन्न मिष्ठान्न परिकारहरु समेटेर दर खाने कार्यक्रमको पनि व्यवस्था गरिएको छ। अध्यक्ष तामाङले भन्नु भयो,‘ तीज महोत्सवलाई भव्य र सभ्य रुपमा हर्षोल्लासका साथ सम्पन्न गर्न, आवश्यक तयारी पूरा गरेका छौं।यस वर्षको तीज महोत्सवले बोष्टनवासी नेपालीहरुलाई भरपूर मनोरञ्जन दिनुका साथै एक आपसमा एकताको सन्देश दिन पनि सफल हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

अध्यक्ष तामाङले तीज महोत्सव-२०२२लाई लक्ष्य र उद्देश्य अनुसार सफल बनाउन, आवश्यक सहयोग र सहभागिताका लागि सरोकार वालाहरु र सम्पूर्ण बोस्टन बासी नेपाली/नेपाली भाषीहरुलाई अनुरोध गर्दै महोत्सवमा सहभागिताका लागि चुले निम्तो समेत दिनु भएको छ। उहाँले भन्नु भयो,’ यो हाम्रो महान चाड हो। परदेशमा यसको महत्व अझ बढी हुन्छ।हुनुपर्छ पनि। त्यसैले, महोत्सवमा सहभागी भइदिन हुन सबैलाई चुले निम्तो गर्दछौं।’

तीज महोत्सवलाई चाडको मर्ममा केन्द्रिकृत गर्दै सक्दो मनोरञ्जनात्मक तथा उल्लासमय बनाउने गरी आवश्यक तयारी पूरा गरिएको आयोजक संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीले जानकारी दिनु भयो। अध्यक्ष कार्कीले भन्नु भयो,’ हरितालिका तीजको मर्ममा केन्द्रिकृत भएर तीज महोत्सव-२०२२ मनाउन सक्दो प्रयास गर्ने छौं।र, सोही अनुसार आवश्यक तयारी पनि पुरा गरेका छौं।अध्यक्ष कार्कीका अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि प्रति व्यक्तिले सहयोग स्वरुप अग्रिम टिकट खरिद गरेमा ३५ डलर र कार्यक्रम स्थलमै टिकट खरिद गरेमा ४५ डलर भुक्तान गर्नु पर्ने व्यवस्था गरिएको छ भने, १२ वर्ष मुनिका बाबालिकालाई शुल्क नलाग्ने र १२ वर्ष माथिकालाई पुरा शुल्क लाग्ने छ। उक्त कार्यक्रममा ३५० टिकट बिक्री गर्ने आयोजकको लक्ष्य रहेको कुरा अध्यक्ष कार्कीले बताउनु भयो। उहाँका अनुसार
महोत्सवलाई मनोरञ्जनात्मक तथा हर्षोल्लासमय बनाउन, साँगितिक कार्यक्रमको पनि आयोजना गर्ने गरी तयारी पूरा गरिएको छ। जस अन्तरगत महोत्सवमा स्थानीय नेपाली कलाकारहरुदले नेपालीपन झल्किने तीज केन्द्रित गीतहरु र नृत्यहरु पस्किने छन्।

हिन्दू धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार व्रत बसी विधि पूर्व शिवको पूजा, अर्चना, आराधन र प्रार्थना गरेर भगवान शिव जस्तो होनहार शक्तिमान वर पाएको भन्ने बिश्वासका आधारमा सोही अनुसार यो चाड मनाइदै आइरहेको छ। जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ।यसका अतिरिक्त यस चाडलाई माइती र चेली बिचको सम्बन्धलाई सुमधुर बनाउने, ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने, गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ। तर,पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा, भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्म नै मर्न लागेकोप्रति भने सर्वत्र चिन्ता बढ्दै गएको छ ।यस प्रति सबै सचेत हुन जरुरी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*