नेपाल प्रहरीका एआईजी विश्वराजले दिए राजीनामा
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय पुगेर उनले सोमबार सेवाबाट राजीनामा दिएका हुन् ।
पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएका छन् । पोखरेलको राजीनामा महानिरीक्षक धीरजप्रताप सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्नेछ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागु हुनेछ ।
आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई आईजीपीमा नियुक्त गरेपछि पोखरेल २०७९ वैशाखमा बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । एआईजीमा बढुवा भएको डेढ महिनामै सिंह आईजीपीमा नियुक्त भएका थिए । २०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले ज्येष्ठता मिचेर सिंहलाई आईजीपीमा बढुवा गरेको थियो । बढुवाको भोलिपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए ।