हिमालय एयरलाइन्सको काठमाडौं-कुवेत सिधा उडान सुरु

निरन्तर न्यूज
३२ असार २०७९, शनिबार १६:१८

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं-कुवेत-काठमाडौं सिधा उडान सुरु गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौं गन्तव्यकारूपमा कुवेतमा उडान सञ्चालन गरिएको जनाएको छ ।

छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा आज बिहान ०९ः१७ बजे काठमाडौं अवतरण गरेको थियो ।

उडान उद्घाटन कार्यक्रममा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिको उपस्थिति रहेको थियो । एअरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौं उडान सञ्चालन गर्ने जनाएको छ ।

अरबी प्रायद्वीपको देश कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महत्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहेकामा हिमालय एअरलाइन्सद्वारा काठमाडौं-कुवेत-काठमाडौं सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको विश्वास छ ।

नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो । हिमालय एयरलाइन्स काठमाडौंलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले यात्रुलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै हिमालयको काठमाडौं-कुवेत-काठमाडौं सेक्टरको सुरुआत पनि सोही भावनाअनुरुप रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*