आज हेटौंडामा मनाईयो बकर ईद
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व बकर ईद (इदुल जोहा) मनाईएको छ ।
हेटौंडा–४ मा रहेको मकवानपुरकै सबैभन्दा पुरानो ठूलो मस्जिद जामे मस्जिदमा आज आईतबार बिहान मुस्लिम धर्मावलम्बीहरुले नमाज (प्राथना) पढेर बकर ईद मनाएका हुन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको करिब ७० दिनपछि आउने यो पर्वलाई मुस्लिम समुदायले हर्सोल्लासका साथ मनाइरहेका छन् । मुस्लिम धर्मावलम्बीले तीन दिन मनाउने बकर ईदको पहिलो दिन आज बिहान स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गरेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गरेका छन् ।
मकवानपुरमा स्थानीय र बाहिरी जिल्लाबाट आएर हेटौंडा बसेकासहित गरेर करिब १० हजारको संख्यामा मुस्लिम धर्मावलम्बीहरु रहेको जामे मस्जिद हेटौंडाका प्रमुख जावेद हुसेनले जानकारी दिए ।
इस्लामिक मान्यता अनुसार हजरत इब्राहिमले आफ्ना छोरा हजरत इस्माइललाई अल्लाहको निर्देशनमा भगवानको नाममा उनकै बाटोमा हिँड्नका लागि त्याग गरेको तर अल्लाहले जीवनदान दिएको सम्झनामा बकर ईद मनाउने गरिन्छ ।
बकर इदमा त्यागका लागि पशुबली दिने प्रचलन छ । पशुबलीको मासु तीन भागमा बाँडी वितरण गर्ने गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ