मकवानपुरका पत्रकार दाहालसहित मुकारुङलाई पुरस्कार
हेटौंडा । यस बर्षको ‘महालक्ष्मी साहित्य पुरस्कार’ भोजपुरका प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङलाई र ‘केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार’ मकवानपुरका पत्रकार राममणी दाहाललाई प्रदान गरिएको छ ।
महालक्ष्मी बैंकसंगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको ५१ हजार राशीको साहित्य पुरस्कार मुकारुङलाई प्रदान गरिएको हो । यस्तै मातृभूमिको संयोजन एवम् व्यवस्थापनमा ईश्वर मैनालीले बुवाको नाममा स्थापना गरेको ‘केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार मकवानपुरे अग्रज पत्रकार दाहाललाई प्रदान गरिएको हो ।
पुरस्कारको राशी नगद ७ हजार ५ सय रुपैयाँ रहेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज आमोदी, आयोजक संस्थाका अध्यक्ष माधव पोख्रेल, हाम्रो मझेरी साहित्यिक प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अन्जली’ लगायतले मुकारुङ र दाहाललाई नगदसहित सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएका हुन् ।
पुरस्कृत प्रसिद्ध साहित्यकार तथा गीतकार मुकारुङले सम्मानले लेखन कार्यलाई थप मद्दत पुग्ने धारणा राखे । ‘लेखकले प्राप्त गर्ने पुरस्कार भनेकै सम्मान हो’, उनले भने, ‘सम्मानको निम्ति आभार व्यक्त गर्न चाहन्छु ।’ साहित्यकार तथा कलाकार सबैको साझा हुने भन्दै उनले स्थानीय र राष्ट्रिय भन्ने नहुने धारणा राखे ।
पुरस्कृत पत्रकार दाहालले सम्मानले पत्रकारितामा निरन्तर लाग्न हौसला मिलेको बताए । दाहाल करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका छन् । कार्यक्रममा समाजका कार्यसमिति सदस्य साहित्यकार किसन पौडेलले लेखेको लघुकथा ‘खुसी’को गृह विमोचन समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज आमोदीले साहित्य क्षेत्र अझै राज्यको नजरमा पर्न नसकेको धारणा राखे । भाषा साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित २०५६ सालमा स्थापना भएको मातृभूमि साहित्य समाजले साहित्यिक गतिविधिसंगै विभिन्न सम्मान तथा पुरस्कारको व्यवस्थापन र प्रदान समेत गर्दै आएको छ ।
यती फाइनान्स हुँदा २०५९ सालदेखि नै प्रदान गर्दै आएको साहित्य पुरस्कारले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले यस पुरस्कारलाई निरन्तरता दिदै जाने बताए ।