पूर्वप्रधानमन्त्री नेपाल भेट्न भारतीय राजदूत कोटेश्वरमा
नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन् । शनिबार साँझ राजदूत श्रीवास्तवले अध्यक्ष नेपालको निजी निवास कोटेश्वरमा शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए । भेटमा नेपाल भारत–सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ ।
उनले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका थिए।
भेटमा उनले भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका शुभकामना सन्देश सुनाएका थिए।
राजदूत श्रीवास्तवले हालै भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको पनि भेटमा बताए।
उनले आफ्नो कार्यकालमा दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिवद्धता पनि प्रधानमन्त्रीसमक्ष व्यक्त गरेका छन्।
त्यसक्रममा प्रधानमन्त्री देउवाले राजदूत श्रीवास्तवलाई नेपालमा स्वागत गर्दै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए।
श्रीवास्तव नेपालका लागि भारतका २६ औँ राजदूत हुन्। पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूत नियुक्त भएका हुन्।