मकवानपुरका एक वडाध्यक्षविरुद्ध अदालतमा किर्ते र जालसाजी मुद्धा दायर

निरन्तर न्यूज
२३ जेष्ठ २०७९, सोमबार २१:१३

हेटाैँडा । मकवानपुरमा पटक पटक बिभिन्न काण्ड गरेका एक जना वडा अध्यक्षकाे ज्यादती बिरुद्ध पिडितहरु अदालतकाे ढाेका ढकढकाउन पुगेका छन् ।

यसै अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ का अध्यक्ष शिवप्रसाद खनालविरुद्ध आज साेमबार मकवानपुर जिल्ला अदालतमा किर्ते जालसाजी मुद्दा दायर गरिएको हो ।

मनहरी–१ बस्ने ३७ वर्षीया देवीमाया तामाङ भोलनले खनालसहित ९ जनाविरुद्ध किर्ते र जालसाजीको मुद्दा दायर गरेकी हुन् ।

वडाध्यक्ष खनालले आफ्नो श्रीमान गंगालाल भोलनको पहिचान नै हराउने गरी नाता प्रमाणित गरेको, मालपोत कार्यालयलाई जग्गा नामसारी गर्न सिफारिस गरेको, श्रीमानको जन्ममितिभन्दा ३ वर्ष पहिल्यै सासुको मृत्यु भएको प्रमाणित गरिदिएको जस्ता आरोपमा मुद्धा दायर गरेकी हुन् ।

खनालसहित गंगालालका माइला दाइ कृष्णबहादुर भोलन, साइँला दाइ भीमबहादुर भोलन, काइँला दाइ सुकराम भोलन, मनहरी गाउँपालिका वडा नं १ को कार्यालय, मनहरी १ बस्ने सूर्य बहादुर वाईबा, कुल बहादुर सिंतान, श्याम बहादुर तितुङ, भीमबहादुर लामा र विनिता माया बखतीविरुद्ध किर्ते र जालसाजीको मुद्धा दायर गरिएको हो ।

वडाध्यक्ष खनालले गंगालाल र उनका जेठा दाइ डिल बहादुरको नाम नै नराखी ३ जना मात्रै दाजुभाइ भएको प्रमाणित गर्दै मालपोत कार्यालय हेटौंडालाई जग्गा नामसारीको लागि सिफारिस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*