स्थानीय चुनाव : उम्मेदवारी दर्ताको आज अन्तिम दिन
काठमाडौं । स्थानीय तहको चुनावमा उम्मेदवारी दिन तोकिएको दुई दिने समयसीमा सोमबार सकिँदै छ । आइतबारबाट सुरु भएको मनोनयनमा पहिलो दिन मुख्य राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका थिएनन् ।
७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुने भए पनि आइतबार १० हजार ५ सय २३ जनाको मात्र उम्मेदवारी परेको छ । बिहान १० देखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ ।
मनोनयन दर्ता गर्ने उम्मेदवारको सूची निर्वाचन आयोगले आजै प्रकाशन गर्नेछ । निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले मनोनयन सकिएपछि सोमबार नै उम्मेदवारहरूको सूची प्रकाशन गरिने बताए ।
सूची प्रकाशनपछि १३ वैशाखमा उम्मेदवारविरुद्ध दाबी–विरोध, १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँचबुझगरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा भने उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।
निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।