हेटौंडामा एकैदिन ७ मेयर र २ उपमेयरमा मनाेनयन दर्ता
हेटौंडा । मकवानपुर जिल्लाकाे हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख पदमा बिभिन्न दल तथा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन् ।
आज बैशाख ११ गते उम्मेदवारी मनाेनयनकाे पहिलाे दिन सात जनाले मेयरमा उम्मेदवारी दिएका छन् ।
आज साना दल र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका हुन् । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार उम्मेदवारी दर्ता हुँदैछ । हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले गरी ७ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
मेयरमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम गरि कुल ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडाको मेयरमा स्वतन्त्रबाट लिलाकुमारी आचार्य र देवराज पौडेल २जना गरि कुल ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयरमा बर्तैला र आचार्यले उम्मेदवारी दिएपछि मेयरमा उम्मेदवारी दिने महिलाकाे संख्या २ पुगेकाे छ ।
यता आज हेटौंडाको उपप्रमुख पदका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिना नाम दर्ता गराएका हुन।
त्यसैगरी वडाध्यक्षमा हेटौंडा-१ बाट एकजना स्वतन्त्र उम्मेदवार एकजना,हेटौंडा-२ को वडाध्यक्षमा नेमकिपाका एक जना,वड नम्बर ५ मा नेमकिपाका एकजना वडाध्यक्ष, हेटौंडा-८ का वडाध्यक्षमा सचेत नेपाली पार्टीका एकजना,हेटौंडा-१७ मा नेपाल विवेकशील पार्टीका वडाध्यक्ष र सदस्य सहित ५ जना,वडा नम्बर १८ मा वडाध्यक्षका लागि एकजना र हेटौंडा-१९ मा वडाध्यक्षका लागि २ जनाले मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत सागर शर्माले बताउनुभयो ।
निर्वाचन आयोगले बैशाख ११ गते १२ गते दुई दिन मनोनयन दर्ता गर्ने कार्यतालिका प्रकाशन गरेको थियो। यता नेकपा एमाले,कांग्रेस,नेकपा एस,माओवादी केन्द्र र जसपा नेतृत्व गठबन्धन दलका उम्मेदवारले भोलि सोमबार मनोनयन दर्ता गर्ने बुझिएको छ ।