गठबन्धनले मकवानपुरका स्थानीय तहमा टुङ्ग्यायाे भागवण्डा
हेटौंडा । मकवानपुरका दश वटा स्थानीय तहमा सत्तारुढ गठबन्धन दलहरुका बिचमा भागबण्डा मिलेको छ । आज दिउसो गठबन्धनका दलहरुका बिचमा भागवण्डा मिलेको हो । तर, १२ गते उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन भएपनि गठबन्धनका दलहरुले प्राप्त गरेको भागवण्डामा उम्मेदवार सिफारिस गर्न अझै बाँकी रहेको छ ।
केहीमा भने उम्मेदवार पनि तय भइसकेको छ । भोली उम्मेदवारी दर्ता गर्ने दिन सम्मा सबै टुङ्गो लगाउने नेपाली कांग्रेस मकवानपुरले जनाएको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धन दल बिच भागबण्डा मिलेको छ।
सरकार नेतृत्व पाँच दलीय गठबन्धनले मकवानपुरको स्थानीय तहको प्रमुख तथा उप्रमुखको भागबन्डाको टुङ्गो लगाएको हो । वडा अध्यक्ष र सदस्यहरुको पनि गठबन्धन गर्ने भनेपनि यसको टुङ्गो लाग्ननै बाँकी रहेको छ ।
भागबण्डा अनुसार मकवानपुरको १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले पाँच वटा स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ भने माअओवादीले ३ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुखको उम्मेदवारी दिने सहमति भएको छ।
कांग्रेसलाई बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका अध्यक्ष पदको लागि तोकिएको छ भने माओवादी केन्द्रलाई थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका अध्यक्षमाा उम्मेदवारी दिने सहमति भएको छ । साथै, नेकपा एकीकृत समाजवादीलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ ।
यसैगरी, उप प्रमुखमा कांग्रेसलाई हेटौंडा, थाहानगरपालिका तथा उपाध्यक्षमा भीमफेदी, इन्द्रसरोवर र बागमती दिने सहमति भएकाे छ । त्यस्तै नेकपा माओवादी केन्द्रलाई मकवानपुरगढी, मनहरी, राकिसराङ, कैलाश र बकैयाकाे उपाध्यक्ष दिने सहमति भएको छ । नेकपा एकीकृतलाई भने कुनै पनि स्थानीय तहको उपाध्यक्ष पद बाँडफाड गरिएको छैन ।