कांग्रेस मकवानपुरका अधिकांश पदाधिकारीले केन्द्रको निर्णय नमान्ने (बिज्ञप्तीसहित)
हेटाैँडा । सत्ता गठबन्धनकाे केन्द्रिय संयन्त्रले हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा (एकिकृत समाजवादी) लाई दिने निर्णय गरेसँगै मकवानपुरमा काँग्रेसले उक्त निर्णय नमान्ने जनाएकाे छ ।
केन्द्रकाे निर्णय नमान्नेमा संस्थापन इतरका पदाधिकारीहरु रहेका छन् । आज विहीबार हेटाैँडा २ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै इतर समूहका जिल्ला पदाधिकारी तथा पूर्वसभापतिहरुले केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे केन्द्रीय निर्णय नमान्ने स्पष्ट पारेका हुन् ।
केन्द्रले गरेको निर्णय पुनरावलोकन नगरी यथास्थितिमा निर्वाचनमा जाँदा गठबन्धनको आवश्यकता, औचित्य र मर्मविपरित परिणाम आएमा आम कांग्रेस कार्यकर्ता जिम्मेवारनहुने उपसभापति आनन्द कठायतले बताए । यस्तै अवस्था आएमा कांग्रेसले एकल उम्मेदवार खडा गरेर निर्वाचनमा जानसक्ने समेत बताए ।
उपसभापति कठायतले हेटौँडाकाे मेयर समाजवादीलाई दिँदा नेपाली कांग्रेसलाई दिर्घकालिन रुपमा आघात पुग्ने दाबी समेत गरे । यस अघि २०७४ काे स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीकाे गठबन्धनसले एमालेसँग ६ सय १५ मतान्तरले पराजित भएको थियो । कांग्रेसको तर्फबाट हेटौंडाको मेयरको उम्मेदवारमा पार्टी पूर्वसचिव आनन्दराम पराजुली र नेविसंघ पूर्वमहामन्त्री प्रभातकुमार दाहालको नाम चर्चामा थियो । नेकपा समाजवादीको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र हेटौंडाकी उपमेयर मीना लामाको नाम सिफारिस भएको छ ।
पत्रकार सम्मेलनमा उपसभापति कठायत, धर्मराज लामिछाने, सचिव भीमसेन महत र ईश्वर पाठक, कोषाध्यक्ष होमनाथ गौतम, सहसचिव ईन्दिरा न्यौपाने, पूर्व पार्टी सभापति रघुरमण न्यौपाने, माइकल रामचन्द्र अर्याल महिला नेतृ रिता खनाल, अमृता थापा, मुना थापा कठायत, तारा राइ कार्कीलगायतको उपस्थिती रहेको थियो । कांग्रेस मकवानपुर पदाधिकारीमा पाँचजना संस्थापन इतर समूहका छन् ।