केन्द्रिय भागबण्डाअनुसार हेटाैँडाकाे मेयर समाजवादीलाई, उप मेयर काँग्रेसकाे हुने
हेटौंडा । सत्ता साझेदार पाँच दलीय गठबन्धनकाे औपचारिक निर्णय अनुसार हेटाैँडा उपमहानगरकाे मेयर नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) लाई दिने भएकाे छ ।
आज बसेकाे सत्ता गठबन्धनकाे निर्णय अनुसार हेटाैँडाकाे मेयर समाजवादीले पाउने भएकाे हाे ।
त्यस्तै उपमेयर नेपाली काँग्रेसकाे भागमा परेकाे छ । स्थानीय निर्वाचन २०७४ मा नेकपा एमाले बिजयी भएकाे हेटाैँडा उपमहानगरमा समाजवादीले दाबी गरेकाे बुझिएकाे छ ।
आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशका ११ वटा उपमहानगरको भागबण्डामा हेटौंडाको मेयर समाजवादीलाई दिने सहमति गरेको छ ।
हेटौंडाको उपमेयर भने नेपाली कांग्रेसले पाउने भएको छ । अघिल्लाे निर्वाचनमा थाेरै मत अन्तरले पराजीत बनेकाे काँग्रेसले यस पटक मेयरकाे दाबी गरिरहेकाे थियाे । तर दाबी गरे अनुरुपकाे मेयर केन्द्रबाट आएन ।
यसै क्रममा मेयर काँग्रेसले पाउनु पर्ने भन्दै तरुण दल नगर समितिकाे अगुवाइमा मंगलबार हेटाैँडा २ स्थित काँग्रेस पार्टी कार्यालयमा ताला समेत लगाएका थिए । उक्त ताला पार्टी जिल्ला सभापति बुद्ध लामाले सुरक्षाकर्मीकाे उपस्थितिमा फाेडेका थिए । यसरी मंगलबार नै बिभिन्न गुट उपगुटबीच ताला लगाउने र खाेल्ने कस्साकस्सीले बाैद्धिक कार्यकर्तामा अन्याैलता छाएकाे थियाे । फेरी आज नेपाली काँग्रेस हेटाैँडा उपमहानगर समितिले पत्रकार सम्मेलन गरेर नेपाली काँग्रेसले हेटाैँडा उपमहानगरकाे मेयर पद नछाड्ने र एक्लै भिड्ने बताएकाे छ ।