तनहुँमा एमाले र कांग्रेसका जोशी समूहकाे चुनावी तालमेल : व्यासमा जोशी, भानुमा एमाले

निरन्तर न्यूज
४ बैशाख २०७९, आईतवार १२:३२

तनहुँ । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ ।

शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि भएको छ ।

गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँका पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको बताए । ‘एमालेसँग प्रत्येक पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको छ,’ उनले भने ।

कांग्रेसले सम्मानजनक व्यवहार नगरेका कारण एमालेसँग सहकार्य गरेर अगाडि बढ्न बाध्य भएको जोशीपुत्र दीपराज जोशीको प्रस्टोक्ति छ । ‘कांग्रेसले माओवादीसँग तालमेल गर्न हुने जोशी समूहसँग तालमेल गर्न नहुने भन्ने के छ र ? बुवालाई नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरेर पार्टीबाट निकाल्दा खेरी हामी चुप लागेर बस्ने कुरो त हुँदैन । पेल्नेको पनि सीमा हुन्छ नि कहाँसम्म पेल्ने भनेर’ उनले भने ।

जोशी पुत्र दिपकराजले व्यास नगरपालिकाको मेयरमा उम्मेदवार दिने घोषणा गरेर प्रचारप्रसारमा लागिरहेका छन् । उनले नेपाली कांग्रेसमा पनि मेयरको आकांक्षीमा नाम टिपाएका थिए । तर, पार्टीले हस्ताक्षर गर्न लगाएको प्रतिबद्धता पत्रमा उनले हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनको नाम सिफारिस भएको छैन ।

जोशीका अनुसार हालसम्म व्यासमा जोशी समूहले मेयर लिने र भानुमा एमालेले मेयर लिने सहमति भएको छ । जोशी समूहको पकड व्यास र भानुमा बढी छ ।

शक्ति सन्तुलन गरेर स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए । ‘प्रारम्भिक छलफलमा सहकार्य गरेर जाने सहमति भएको छ । सहकार्यका लागि दुवै पक्ष सकरात्मक छौँ’ उनले भने ।

कुन पालिकामा कसले भाग पाउने भनेर भने सहमति भइसकेको छैन । पार्टीको प्रभाव, शक्ति सन्तुलन र हैसियतको आधारमा भागबण्डा हुने उनको भनाइ छ । ‘स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा भागबण्डा हुनेछ’, उनले भने ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकाले यहाँ स्थानीय तहको निर्वाचनमा प्राप्त हुने परिणाम निकै अर्थपूर्ण तरिकाले हेरिन्छ । गठबन्धन गरेर विगतमा भन्दा अझ धेरै स्थानमा जित हासिल गर्न चाहनेले कांग्रेसलाई कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूह भारी बन्न सक्ने आँकलन भइरहेका बेला एमालेसँग तालमेल हुने सहमतीले तनहुँको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।

१० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो । कांग्रेस वरिष्ठ नेता पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा जोशीलाई कारबाही गरिएको हो ।

जोशीमाथि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई जिताउन भूमिका खेलेको आरोप थियो । तत्कालीन नेकपा एमालेका सांसद श्रेष्ठ, एमाले विभाजनपछि हाल माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*