एमाले प्रतिपक्षमा बस्ने जमाना होइन : केपी ओली

निरन्तर न्यूज
२ बैशाख २०७९, शुक्रबार १७:४४

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् । लमजुङको घलेगाउँमा आयोजित एक समारोहमा अध्यक्ष ओलीले एमालेलाई जालझेल गरेर प्रतिपक्षमा पुर्‍याइएको बताएका छन् ।

ओलीले एमाले एकछिनका लागि प्रतिपक्षमा भए पनि चुनावपछि फेरि सत्तामा जाने बताए । उनले भने, ‘अहिले एमाले एक छिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन् । एक छिनका लागि जालझेल गरेर प्रतिपक्षमा पुगेको छ । चुनावपछि फेरी सत्तामा आउँछ ।’

अध्यक्ष ओलीले एमालेले जनताको आकांक्षा बुझेको दाबी गर्दै समृद्धिका लागि आफ्नो पार्टी अग्रसर रहेको बताए । उनले भने, ‘एमालेले जनताको चाहना बुझेको छ । जनताको समृद्धिको चाहना बुझेको छ । त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ ।’

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उनको भनाई छ । सूर्यतीर हेर्दै उनले भने, ‘अहिले के गर्नुपर्छ जनतालाई थाहै छ, आजकल भोट के मा ? भनेर जनतालाई सोधेर यसो औला लाउँछन् ।’

जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्‍याए । ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे ।

जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पुर्‍याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*