मकवानपुरे पत्रकार गिरिजा अधिकारी ‘जनसेवा श्री’ पदकबाट सम्मानित

निरन्तर न्यूज
१ बैशाख २०७९, बिहीबार २१:१२

हेटाैँडा । पत्रकार गिरिजा अधिकारीलाई जनसेवा श्री पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा बिहीबार उक्त पदक बिहीबार प्रदान गरेकी हुन्।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण प्रदान गरिएको हो। संविधान दिवसका अवसरमा सरकारले नौ सय तीनजनालाई मान-पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।

अधिकारी पत्रकार, साहित्यकार तथा गीतकार हुन् । २०४२ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका उनी मकवानपुरका स्थायी वासिन्दा हुन् २०५७ सालबाट पत्रकारितामा आवद्ध अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् ।

अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् । काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, सौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका उनी हाल तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत छन् ।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो ।

यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरियो । विभूषण प्राप्त गर्नेहरुको सूची करिब पाँच सयको सङ्ख्यामा भएकाले अहिले कार्यक्रम जारी रहेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्रीगण र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*