कुलमान र प्रदेश सभामुखलाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको हो । सरकारी कर्मचारीको भूमिकामा रहेका घिसिङकाे तस्बिर नेकपा माओवादी केन्द्रको एक निर्वाचन सामाग्रीमा प्रचण्ड र जनार्दन शर्मासँगै सार्वजनिक भएको थियो । साेही विषयमा आयोगले सात दिने स्पष्टीकरण सोधेको हो ।
आयोगले पोस्टरमा फोटो राखि प्रचार प्रसार गरिएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा समाजिक सञ्जालमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंको समेत फोटो राखि नेकपा माओवादी केन्द्रको चुनावी पोस्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति रहेको हो होइन ?’ भनि सोधिएको छ ।
त्यस्तै गण्डकी प्रदेशका सभामुख अधिकारीलाई आयोगले तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएको हो वा होइन भनि प्रश्न गरेको छ ।