एमाले मकवानपुरले बनायाे उम्मेद्वार छनौट र निर्वाचन परिचालन कमिटी

निरन्तर न्यूज
३० चैत्र २०७८, बुधबार २०:३२

हेटौंडा । नेकपा एमाले मकवानपुरको तेस्रो पुर्ण कमिटी बैठक आज सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको बैठकले स्थानीय निर्वाचन २०७९ का लागि जिल्लाका सबै पालिकाबाट आएको उम्मेदवारहरुको सिफारिस संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदवारहरुको सर्वसम्मत उम्मेदवारहरुलाई स्वीकृत गर्ने तथा सिफारिस भएकाहरुलाई छनोट गर्ने जिम्मा पार्टी को जिल्ला इन्चार्ज, सह इन्चार्ज, जिल्ला पदाधिकारीहरुलाई जिम्मा दिएको छ ।

छनोट गरिएको उम्मेद्वारहरुको नामावली जिल्ला सचिवालयमा पेश गरेर सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले निरन्तर न्यूजलाई बताए ।

जिल्लाबाट नगर र गाउँपालिकाहरुको वडाका उम्मेद्वारहरुको छनोट गरि अनुमोदन गर्ने काम केहिदिनमा सम्पन्न हुने नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देलले जानकारी दिए । जिम्मेमार कमिटिमा रहेकाहरुका हकमा सचिवालयले निर्णय गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

निर्वाचन परिचालन कमिटि गठन

नेकपा एमाले मकवानपुरले आसन्न स्थानीय निर्वाचनको लागि २ हजार ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । आज भएको जिल्ला कमिटी बैठकले

जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको संयोजकत्वमा जिल्लाभर २५०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।

कमिटीको सहसंयोजकमा लाल बहादुर थापा, सचिवमा नवीन सिग्देल तथा उपसचिवमा हिदम लामा र सीता बिष्ट रहेका छन् ।

यस्तै निर्वाचन परिचालन कमिटीमा एमाले मकवानपुर जिल्ला सचिवालय सदस्यहरु, पालिका इन्चार्जहरु तथा २२ वटा जनबर्गीय संगठनबाट गरि ५५ सदस्यीय सचिवालय गठन गरेको छ ।

यसैगरी, बैठकले स्थानिय निर्वाचन २०७९ को आचारसंहिता पुर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै निर्वाचनलाई विश्वसनिय र धाधलीरहित बनाउनका लागि निर्वाचनमा सहभागी हुने जिल्लाका सबै पार्टीहरुलाई ध्यानाकर्षण गराउने तथा निर्वाचनमा सरकारी शक्ति, स्रोत र साधनको प्रयोगमा प्रतिबाद गर्ने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*