एमाले छाडेर उत्तम शर्मा न्यौपानेले रोजे एकीकृत समाजवादी
हेटौंडा । लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधी समेत भएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का उत्तम शर्मा न्यौपाने आज बुधबार एकीकृत समाजवादीमा आबद्द भएका छन् ।
नेता न्यौपानेलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् ।
केपी ओली नेतृत्वको एमाले अब कम्युनिष्ट पार्टी भन्न नसुहाउने भएकाले कम्युनिष्टको असली घर एकीकृत समाजवादी भएकाले आफू सो घरमा आबद्द भएको उनले बताए । न्यौपानेले एमालेबाट अब समाज रुपान्तरण सम्भव नभएकाले आफु कम्युनिष्ट पार्टीको मूल घर एकीकृत समाजवादीमा आबद्द भएको उल्लेख गरे ।
२०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्षका उम्मेद्वार रहेका न्यौपाने २०४९ र २०५४ मा हेटौंडा १ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
पछिल्लो समय एमाले मकवानपुरको जिल्ला सदस्य रहेका न्यौपानेलाई पार्टी प्रवेश गराउँने कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य ललित बस्नेत, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पाख्रेल, पार्टी बागमती प्रदेश कमिटीका सदस्य यादव गजुरेल, पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुव भुजेल लगायतको सहभागिता थियो ।