काम सम्पन्न नभएको सडक पूर्वमूख्यमन्त्री पौडेलले उद्घाटन गरेकाेमा वडाध्यक्षको विरोध
हेटाैँडा । हेटौंडा–६ बिच हात्तिलेटमा काम सम्पन्न नभएको सडक पूर्व मूख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेपछि यसको विरोध भएको छ । नेकपा एमालेका स्थानीय नेताहरुको उक्साहटमा निर्माण कार्य सम्पन्न नहुँदै सडक उद्घाटन गरेपछि हेटौंडा–६ का वडा अध्यक्ष अध्यक्ष अर्जुनप्रसाद चौलागाईसहित त्यस क्षेत्रका स्थानीय विरोध गरेका हुन् ।
स्थानीयले टोल विकास संस्थाहरुलाई समेत खबर नगरी अनावश्यक राजनीति गरेको आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को २०७५/०७६ र ०७६/७७ मा सिलिङ बजेटबाट विनियोजित रकम र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्र विकास कोषबाट रकम प्राप्त भई वडा कार्यालयबाट उपभोक्ता समिति गठन गरेको र समितिले काम नगर्दा बजेट फ्रिज भएपछि वडाकै पहलमा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ०७८/०७९ मा ठेक्कामार्फत काम भईरहेको वडा कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भर्खरै कालोपत्रे भएको र बजेट फरफारक समेत नभई हस्तान्तरण नभएको सडक नेकपा एमालेले ‘कथित उपभोक्ता मञ्च’ को नाममा वडा कार्यालयलाई उपेक्षा गरी पौडेलबाट उद्घाटन गराएकोमा वडा कार्यालयले विरोध गरेको जनाईएको छ ।
आफु जस्तै जनप्रतिनिधि संस्थालाई उपेक्षा गरेको मूख्यमन्त्री जस्तो गरिमामय पदमा आसिन भईसकेको व्यक्तिले बुझ्न नसक्नु पदीय मर्यादाको चरित्र समेत उदांगो भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत ध्यानाकर्षण गराईएको छ ।