गठबन्धन गरेरै अघि बढ्ने : रेणु यादव
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छन्।
जनता समाजवादी पार्टी, नेपालकी नेतृ समेत रहेकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरूबीच गठबन्धन नभएपनि ठाउँ हेरेर त्यसको निक्र्यौल हुने बताइन्।
शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग भने तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको बताइन्।
विचार, मन र नियत तीन वटै कुरा नमिल्ने भएकाले सो पार्टीसँग तत्काल चुनावी तालमेल हुने अवस्था नरहेको मन्त्री यादवको तर्क छ।
‘अहिले हामी गठबन्धन सरकारमा पनि छौं। त्यो विभिन्न ठाउँमा परिस्थितिबश हाम्रो गठबन्धन भएर अगाडि बढ्ने अवस्था छ। हामी सबै ठाउँमा नगरेपनि कुनकुन ठाउँमा कसरी गर्नुपर्छ? भनेर त्यो चाहिँ हामी गर्छौं। कुनै पनि सम्भावना समाप्त हुँदैन’, उनले भनिन्, ‘राजनीतिमा हरेक सम्भावना परिस्थितिबश अगाडि बढछ। लोसपाको पनि विचार मिल्यो भने हामी सोच्न सक्छौं। तर, विचारै हामीसँग मिल्दैन। त्यसैकारणले गठबन्धन पनि विचारबाट, मनबाट र नियतबाट मिल्नुपर्छ। नियतै नमिल्दाखेरी त हात जोडेर मात्रै भएन। तर, सम्भावना भने अन्त्य हुँदैन।’
मन्त्री यादवले राजनीतिमा हरेक सम्भावना हुने तर, त्यो विचार, मन र नियत नमिल्दा सम्भव नहुने पनि दोहो¥याए। उनले परिस्थिति अनुसार विभिन्न दलहरूसँग चुनावी तालमेल गर्दै अघि बढ्ने पनि बताए।