चुनावी एकतालाई लिएर ओली-राणा भेटघाट

निरन्तर न्यूज
१८ चैत्र २०७८, शुक्रबार १४:५२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशमशेर राणाबीच भेटवार्ता भएको छ ।नेपालगन्ज उपमहानगरपालिका मेयर समेत रहेका राणाले ओलीलाई नेपालगन्जमै भेटेका हुन् ।

चुनावी माहोल ह्वातै बढेको समयमा भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ। पाँच दलीय गठबन्धन चुनावसम्म जाने पक्का भए पछि एमालेको साथ राप्रपाले खोजेको बुझिएको छ । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाइएको छ ।

स्थानीय चुनावमा तालमेल गरेर जाने विषयबारे समेत प्रारम्भिक छलफल भएको राणाले बताएका छन् । उनले पाँच दलीय गठबन्धन एक भएर चुनावमा गए राप्रपाले एमालेसँग गठबन्धन गरेर जाने बताए । उनले आवश्यकताका आधारमा गठबन्धन हुने स्पष्ट पारेका छन् । उनले चुनावमा कसरी र कुन मोडालिटीमा गठबन्धन गर्न सकिन्छ भन्नेबारे सामान्य छलफल भएको जानकारी दिए ।

भेटमा ओलीले पार्टीमा छलफल गर्ने बताएका छन् । ओली पनि गठबन्धन गर्नेतर्फ सकारात्मक नै रहेको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘सामान्य छलफल भयो । उहाँहरुबीच गठबन्धन गरेर जानेबारे छलफल भयो । सत्ता गठबन्धन कसरी अघि बढ्छ निश्चित भइसकेको छैन । सुरुमा सत्ता गठबन्धनको माडालिटी हेर्ने र उनीहरुलाई परास्त गर्नेबारे छलफल भयो । राप्रपाले एमालेको साथमा चुनावमा जाँदा फाइदा नै हने मनसाय प्रकट गरेको छ । धवल पनि नेपालगन्जका लोकप्रिय नेता हुन्।’

धवलले यसपालि स्थानीय तहमा नदोहोरिने बताइसकेका छन् । उनले संघीय सांसद बन्ने इच्छा व्यक्त गर्दै आएका छन् । एमालेलाई स्थानीय तह छाडेर उनले संघीय सांसदका लागि चुनाव लड्ने पनि बुझिएको छ। उनले एमालेसँग गठबन्धन गर्दा अरु जति दल एक भएर आए पनि पराजित गर्न सक्ने बुझेर एमालेसँग गठबन्धनको कुरा अघि बढाएको स्रोतको दाबी छ। एमालेले पनि आवश्यकताका आधारमा गठबन्धन गर्नेबारे स्पष्ट पारिसकेको अवस्था छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि एमालेसँग गठबन्धन गरेर नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटाैलाई झापामा भारीमतान्तरले हराएका थिए । राप्रपाले ७४ को चुनावमा एक सिटमात्र जितेको थियो । राप्रपा राष्ट्रिय पार्टी हुनबाट भने बन्चित भएको थियो । यसपालि राप्रपाले राष्ट्रिय पार्टी बन्नका लागि चुनावी माहोल तताएको छ भने अध्यक्ष लिङ्देन जिल्ला जिल्ला पुगेर मतदातालाई राप्रपाका एजेन्डा र भावी योजनाबारे बुझाउँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*