स्थानीय तहमा गठबन्धन आवश्यक छैन : शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री डा.शशांक कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन गर्न नहुने बताएका छन् । कोइरालाले स्थानीय तहको चुनावमा एक्लै लड्न पर्ने उल्लेख गर्दै संसदीय चुनावमा भने गठबन्धनबारे छलफल गर्न सकिने बताए ।
पार्टी केन्द्रीय समितिको सोमबार बसेको बैठकमा धारणा राख्ने क्रममा उनले स्थानीय तहकै निर्वाचनमा चुनावी गठबन्धन आवश्यक नभएको बताएका हुन् ।
कांग्रेस बैठकमा स्थानीय तहको चुनावमा गठबन्धन गर्न हुने र नहुने पक्षमा कांग्रेस नेता विभाजित भएका छन् । अधिकांस नेता गठबन्धनकै पक्षमा भए पनि डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायतका नेताहरु भने गठबन्धन गर्न नहुने पक्षमा स्पष्ट छन् । बैठक मंगलबार पनि बस्ने र उक्त बैठकबाट गठबन्धनबारे निर्णय हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।