देउवालाई शेखरको चेतावनी- भनेको नमाने समानान्तर कमिटी बनाउँछाैं
काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आधा घण्टा छलफल भएको हो ।
केन्द्रीय समिति बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति देउवा र कोइरालाबिच भेटवार्ता भएको हो । भेटमा नेता कोइरालाले पार्टी सञ्चालनमा सबैलाई समेट्न आग्रह गरेका छन् । उनले पार्टीमा एकलौटी ढंगले अगाडि नबढ्न पनि देउवालाई भनेका छन् ।
यता सभापति देउवाले सबैसँग परामर्श गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । नेता कोइरालाले पार्टीका भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दल गठनमा असन्तुष्टि जनाएका थिए । देउवाले असन्तुष्टिहरु सम्बोधन गर्ने र अब निर्णय गर्दा छलफल गर्ने बताए ।
देउवा र कोइरालाबीच महाधिवेशनपछिको यो दोस्रो भेट हो । भेटमा कोइरालाले साथीहरुले समानान्तर कमिटी बनाउन दबाब दिइरहेको देउवालाई जानकारी गराएका थिए । देउवाले आफूले सवैलाई मिलाएर अघि बढ्ने बताएको स्रोतको दाबी छ ।
कोइरालाले अस्वभाविक गठबन्धन चुनावमा नबनाउन समेत देउवालाई आग्रह गरे । सल्लाह नै नगरी गठबन्धन बनाइए बहिष्कार गर्नेसम्मको धम्की कोइरालाले दिएको स्रोतको दाबी छ । उनले सबैको सल्लाह र सुझाव अनुसार सरकार र पार्टी सञ्चालन गर्न आग्रह गरे ।