विप्लवले चुनावी लाइन लिएपछि पार्टीभित्र तरंग
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी विभाजनको डिलमा पुगेको छ ।
महासचिव विप्लवको राजनीतिक विचारसँग असहमत भएका नेताहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले नेकपाबाट विकल्प खोज्न सक्ने स्रोतले बताएको छ ।
विप्लवले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा भाग लिने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेपछि वली र बास्तोला विपक्षमा उभिए ।
बहुमत केन्द्रीय सदस्य निर्वाचनलाई उपयोग गर्ने विप्लव विचारकोको विरोधमा छन् । विप्लवको विचारविरुद्ध उभिने नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धको विषयमा पनि प्रश्न उठाएका छन् ।
अध्यक्ष ओलीसँग महासचिव विप्लवले शान्ति वार्तामा आउने क्रममा ३ बुँदे सहमति गरेका थिए । तर गोप्य रूपमा सातबुँदे सहमति भएको नेताहरू बताउँछन् ।
निर्वाचनमा भाग लिने विचार महासचिव विप्लवले लिएसँगै विप्लवले एमालेसँग चुनावी गठबन्धन गर्न सक्ने संकेत देखिएको छ । नेकपाका अधिकांश केन्द्रीय सदस्यले चारवटा बुँदामाथि प्रश्न उठाएको एक केन्द्रीय सदस्यको भनाइ छ ।
अहिलेसम्म ६९ सदस्यीय केन्द्रीय कमिटीमा करिब ३० जना केन्द्रीय सदस्य वली र बाँस्तोलाको पक्षमा रहेको नेकपा स्रोतको भनाइ छ ।