एमालेकै वडाध्यक्षले बोतल दिँदै वडा कार्यालय जला’ भनेका थिएः वैकुण्ठ सापकोटा

निरन्तर न्यूज
९ चैत्र २०७८, बुधबार ०८:३६

हेटौँडा । शुक्रबार मध्यान्ह हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित वडा कार्यालयमा आगजनी, तोडफोडको घटना अझै सकिएको छैन । आइतबार मध्यान्ह जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेर सहमति भए पनि मकवानपुरका गठबन्धन दल र वडाध्यक्ष गोपाल श्रेष्ठको माउपार्टी एमालेका नेता कार्यकर्ताहरुको सामाजिक सञ्जालदेखि चोकचौतारामा चर्चा कायमै छ ।

प्रहरीले नियन्त्रणमा लिएका नेकपा (एकीकृत समाजवादी) मकवानपुरका जिल्ला सदस्य एवम् वडा नम्बर ८ का पार्टी अध्यक्ष वैकुण्ठ सापकोटाकै शब्दमा यो घटनाक्रमः

शुक्रबार वडा कार्यालय पुग्दा वडाध्यक्ष गोपाल श्रेष्ठ कार्यालयमा हुनुहुन्थेन । सेवाग्राहीको लाम थियो । वडा सदस्यहरुलाई सोध्दा वडाध्यक्षलाई नै अधिकार छ, हामीलाई होइन उहाँलाई सोध्नुहोस् भन्ने जवाफ थियो । सेवाग्राहीको लामसँगै आक्रोश पनि थियो । यहीक्रममा मैले भनेँ, अब आइतबार यो विषयमा वडाध्यक्षसँग बसेर छलफल गरौँला ।

नेकपा एमालेका सदस्य कुमार केसीले आजै यो विषय फाइनल गरौँ भने । वडाध्यक्षको कार्यकक्षमा एकजना आक्रोशित सेवाग्राहीले ड्यांग हानिहाले । शिशा फुटिहाल्यो । अब विवाद नगरौँ, वडाध्यक्षसँग आइतबार छलफल गर्ने भनियो । कसले वडाध्यक्षको कुर्सी ल्याएर सडकमा राखे, थाहा पाइनँ । म हिँड्न खोज्दा एमालेका ८ नम्बर वडाध्यक्ष कृष्णबहादुर श्रेष्ठले बोतल दिँदै भने, ल वडा कार्यालय जलाउनुहोस् । बोतलमा कोक थियो कि पानी थियो कि पेट्रोल, उनै जानून् । फोकटमा गठबन्धनका मान्छेले बोतलमा पेट्रोल हालेर आएका भनेर चर्चा गरे ।

५० वर्ष राजनीति गरेको मान्छे, मेरो राजनीतिक गुरु नै माधव नेपाल । रौतहटबाटै राजनीति गरेको । यस्तो अराजकता किन हुन्थ्यो र ?

पछि त एमालेका वडाध्यक्ष कृष्णबहादुर श्रेष्ठ पुलिस लिएर मेरो घर देखाउन आए । त्यहाँ भएको घटनाको भिडियो पनि रहेछ, कतैबाट पनि म दोषी थिइनँ । बोलबहादुर कार्की, गणेश प्रधान, कृष्णबहादुर श्रेष्ठ, कुमार केसीहरु बसेर मलाई नै सत्रुता साँधे । इलाका प्रहरीमा सबै आए । आइतबार छलफल गर्ने भनेपछि शुक्रबार यतिकै बित्यो । म त सञ्चो अस्पतालमा भर्ना हुनुप¥यो । मलाई एमालेका वडाध्यक्ष कृष्णबहादुर श्रेष्ठले धकेल्दा ढाड सड्केको थियो । त्यसैले अस्पताल जानु प¥यो ।

ओहो, अस्पतालमा तपाईं त आउनु भएन एलनबाबु, ३ हजार जति मान्छे आए है, म त छक्क परेँ । मलाई त सार्वजनिक मुद्दा लगाएर चुनाव उठ्न नदिने भए बुबा भन्दै एमालेले केही सूचकहरु पठाए । मेरो पालो अब यी पाँचजनालाई पनि मुद्दा हाल्छु, यी पनि उठ्न नपाउने भए भनेपछि सहमति भएको हो । अनेक हल्ला गरेर केही फाइदा छैन ।

कुनै दिन चन्द्रोदय स्कुलमा त्यही गोपाल श्रेष्ठले १० वटा कुर्सी भाँचेका थिए, ठिक गर्नु भयो गोपाल भनियो, अहिले मैले एमाले छाडेँ भनेर रिस साँधियो । त्यहाँको भिडियो पनि सिडिओ कार्यालयमा हेरियो, कतै मेरो गल्ती थिएन ।
खासमा हाम्रा पाँच मुद्दा छन्ः

१. खानेपानी र बत्तीको निवेदन ।
२. दशैँ भत्ता वितरण
३. दलितको रकम
४. प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा रकम
५. सुकुम्बासीको समस्या के हुँदैछ ?
बैकुण्ठ खुइल्याउँछु भन्दा ८ नम्बर एमालेजनलाई राम्रै क्षति भएको छ ।

शक्तपखबरबाट साभार गरिएकाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*