राप्रपाले चैत २५ गते खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।
आमसभालाई भव्य, व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरु सह-संयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन् ।
समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरु, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरु, प्रदेश भित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरु समितिमा रहेका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको छ। उपाध्यक्षहरु ध्रुब बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको र बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने निर्णय गरेको थियो ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशव्यापी दौडाहलाई तीव्रता दिएका छन् । उनले पछिल्लो एक महिनामा ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन् ।