गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस मनाइँदै

निरन्तर न्यूज
७ चैत्र २०७८, सोमबार ०८:४५

काठमाडौं ।  पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृतवमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।

कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनस्थापना गर्न सहमत भएका थिए। जसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । आन्दोलन सफल भएपछि उनी चौँथोपटक प्रधानमन्त्री बनेका थिए । पुनस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरेको थियो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो ।

चारपटक प्रधानमन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्बाह गरेका थिए । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षका इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।

नेपालमा कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी उहाँको १२ औँ स्मृति दिवस मनाउँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*