नेपाल र युएई सरकारबीच श्रमिककाे हितका बिषयमा छलफल (के-के भयाे सहमति ?)

निरन्तर न्यूज
२ चैत्र २०७८, बुधबार १०:५७

काठमाण्डाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच भेटवार्ता भएको छ ।

संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रशंसा गरे । भेटवार्ताका क्रममा उनीहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ ।

रोजगारीको प्रलोभन देखाइ भिजिट भिसामा युएई ल्याउने गैरकानुनी एजेन्टहरुलाई कारवाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्नेछ । मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ती उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

साथै उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने बताए । उनीहरुबीच युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमा, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि छलफल भएको थियो ।

लामो समयदेखि कार्यरत घरेलु महिला श्रमिकलाई पुन: श्रम स्वीकृति खुला गर्ने नेपाल सरकारको निर्णयले युएईमा रहेका घरेलु महिला श्रमिकहरु लाभान्वित हुने मन्त्री अवारले बताएका थिए । मन्त्री श्रेष्ठले आफ्ना समकक्षी अवारलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*