माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागि परे : प्रचण्ड

निरन्तर न्यूज
२९ फाल्गुन २०७८, आईतवार १९:०७

बिराटनगर । नेपालमा विदेशी शक्तिहरुले दुई दलीय व्यवस्था ल्याउन लागिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् ।

विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागि परेको बताए ।

तर, कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उनले थप खुलाएनन् । विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनले बताए।

पछिल्लो समय नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दलीय व्यवस्थाको वकालत गरिरहँदा प्रचण्डले माओवादी सिद्धाउन खोजिएको बताएका हुन्।

‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीलाई सिद्ध्याएर दुई दलीय प्रणाली स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ नजिते हाम्रो पार्टी र उम्मेदवारले मात्रै हार्ने होइन, नेपालले नै हार्छ।’

माओवादी हारे जनक्रान्तिका उपलब्धी र समावेशी, समानुपातिक लोकतन्त्र हार्ने जिकिर उनले गरे।

माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने उनले बताए। त्यसका लागि तयार रहन पनि प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए ।

‘निर्वाचनको ब्याटललाई समान्य रुपमा नलिनुस्’, उनले भने, ‘समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति हाम्रो निरन्तर निष्ठा छ। त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ, त्यही गर्त तत्पर हुनुपर्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*