पार्टीमा सन्तुलन मिलाउन मन्त्रीमन्डल हेरफेर गर्दै गठबन्धन

निरन्तर न्यूज
२९ फाल्गुन २०७८, आईतवार ११:५२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नयाँ मन्त्रिमण्डलमा केही मन्त्रीहरुलाई विदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने तयारी सत्तारुढ दलहरुमा छलफल सुरु भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएसँगै नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाईसमेत मन्त्री बनाउने कसरत गरेको छ । एमसीसी प्रकरणमा खुलेर अध्यक्ष प्रचण्डको विरोध गरेका श्रेष्ठलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने तयारीमा अध्यक्ष प्रचण्डले कसरत अघि बढाएका छन् ।

नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेललाई पनि महत्वपूर्ण मन्त्रालय दिनेबारे छलफल भएको र कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे भने यकिन भइनसकेको माओवादीका एक नेताले बताए ।

माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाललगायत मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने कसरत गरिरहेको छ भने नारायणकाजी श्रेष्ठलगायत केही असन्तुष्ट नेताहरुलाई मन्त्री बनाउने तयारी सुरु भएको माओवादी स्रोतले जनाएको छ ।

०७४ को संघीय चुनावमा श्रेष्ठ गोरखाबाट पराजित भएका थिए । तर पछि उनी राष्ट्रिय सभा सदस्य बनेका थिए । सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको र श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का भएको माओवादी केन्द्रका एक नेताले बताए ।

सरकार पुनर्गठनका सन्दर्भमा को–को मन्त्री राख्ने, को–को हटाउने भन्नेबारे प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरु छलफलमा छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु प्रेम आले, रामकुमारी झाँक्रीलगायत मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरिरहेको एकीकृत समाजवादीका एक नेताले बताए । उनीहरुलाई फिर्ता बोलाएर मेटमणी चौधरी, जीवनराम श्रेष्ठलगायत नेताहरुलाई मन्त्री बनाउने तयारी भइरहेको ती नेताको भनाइ छ ।

एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु एकपछि अर्को विवादमा मुछिदै गएपछि पार्टीबाटै उनीहरुलाई फिर्ता बोलाउनुपर्ने आवाज बाक्लिदै गएको छ । अध्यक्ष माधव नेपाललाई पनि उनीहरुलाई फिर्ता बोलाएर चौधरी, श्रेष्ठलगायतलाई मन्त्री बनाउनुपर्ने दबाब बढेको छ ।

यस्तै नयाँ मन्त्रिमण्डलमा नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको स्रोतले जनाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका काँग्रेसको उच्च स्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन् । कोइरालालाई रक्षा मन्त्रालय दिने देउवाले तयारी थालेका छन् । यता जसपामा पनि मन्त्री हेरफेर हुने बताइएकाे छ । जसपाकाे केन्द्रीय समितिकाे बैठकमा समेत यसबारे कुरा हुने बताइएकाे छ ।

निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार या पुनर्गठन गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयलाई प्राथमिकतामा राखेर अघि बढेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*