मकवानपुरमा आइतबारबाट ‘घरघर जाउ कांग्रेस जिताऔँ’ अभियान शुरु हुने
हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेसको ’घरघर जाउ कांग्रेस जिताउ’ अभियानले आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई मकवानपुरमा स्थापित गर्ने बताएका छन् । नेपाली कांग्रेस मकवानपुरको स्थानीय निर्वाचन जागरण घोषणा सभा कार्यक्रमको पुर्बसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति लामाले मकवानपुर कांग्रेस जनताका एजेन्डा लिएर गाउँगाउँ जाने बताए ।
उनले नेपाली कांग्रेस आफ्ना कुरा सुनाउन मात्र नभई जनताको आबस्यकता बुझ्न पनि गाउँ जाने बताए । गाउँ जागरण अभियानकै क्रममा जनताले चाहेको नेतृत्वको बिषयमा राय तथा सुझाव समेत संकलन गरिने सभापति लामाको भनाई छ ।
नेपाली काँग्रेस मकवानपुरले भोली आइतबारबाट आगामी स्थानीय निर्वाचन लक्षित ’घरघर जाउ कांग्रेस जिताउ’ अभियान सञ्चालन गर्ने भएको हो । मकवानपुरमा सञ्चालन हुने अभियानकाको घोषणा कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय प्रतिनिति गुरुराज घिमिरे, नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको उपस्थिति रहने सभापति लामाले जानकारी दिए ।
नेपाल प्रेस युनियन मकवापनुरका अध्यक्ष पोष्टराज अधिकारी कुमारको अध्याक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका उपसभापति द्वय आनन्द कठायत र धर्म लामिछाने, सचिव भिमसेन महत, सहसचिव इन्दिरा न्यौपाने, ताराचन्द्र बजागाई निशान, प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला सदस्य कालु घलान, निवर्तमान हेटौंडा नगरसभापति आनन्दराम पराजुली लगाएतको उपस्थिति रहेको थियो ।