मतपत्रको रङ रुखसँग मिल्ने ओलीको असन्तुष्टि प्रति आयोगको स्पषटोक्ती
काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखसँग मिल्ने हरियो रंगको मतपत्रबारे प्रश्न उठाइरहेका बेला निर्वाचन आयोगले स्पष्टीकरण दिएको छ।
स्थानीय तहमा प्रयोग गरिने मतपत्रमा राखिने चुनाव चिह्नको रङ हरियो बनाउनुमा प्राविधिक कारण मात्रै रहेको निर्वाचन आयोगले प्रष्ट पारेको छ।
बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसअघिको अनुभवको आधारमा निर्वाचन चिह्न हरियो बनाउने निर्णय गरिएको बताए।
‘आयोगले यसअघि खटिनुभएका निर्वाचन अधिकृत, निर्वाचन आयोगबाट जानुभएका अनुगमन अधिकृतहरु तथा गणनामा खटिनुभएका कर्मचारीहरु तथा विभिन्न सरोकारवालाहरुले दिएको सुझावको आधारमा हामीले पछिल्ला निर्वाचनहरुमा निर्वाचनको मतपत्रमा प्रयोग गरिएको निर्वाचन चिह्नको रङ र हाम्रो स्वस्तिक छापको रङमा भिन्नता ल्याउँछौँ भनेका थियौँ’, उनले भने, ‘त्यही कुरालाई मनन् गर्दै यो निर्णय गरिएको हो।’
आयोगले हरियो रंगको मतपत्र राख्दा मत गन्न सजिलो हुने तर्क गरेको छ। त्यसबाहेक अरु कुनै उद्धेश्य नरहेको पनि आयोगले जनाएको छ। आयोगले हरियो मतपत्रबारे कुनै किसिमको शंका भएमा त्यसको निवारण गर्न आफू तयार रहेको पनि उल्लेख गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७४ को निर्वाचनमा निलो रङको मतपत्र र निलै रंगको स्वस्तिक छाप हुँदा मत गन्न असजिलो भएको अनुभवका आधारमा यो पटक रंग फेरिएको बताए। तर हरियो रंगको मतपत्र कुनै दलको चुनाव चिन्हसँग मिलाउने गरी रोजिएको कुरालाई भने उनले नकारेका छन्।
केही दिनयता अध्यक्ष ओलीले आयोगले हरियो रंगको मतपत्र बनाउन लागेको प्रति कडा रोष प्रकट गरिरहेका छन्। हरियो रंगको मतपत्र बनाउने कुरामा आयोग कांग्रेसबाट प्रभावित भएको जिकिर ओलीको छ।
‘२०७४ को सालको निर्वाचनका क्रममा प्रयोग गरिएको मतपत्रका विवरण र चुनाव चिन्ह निलो रंगका थिए। स्वस्तिक छापमा प्रयोग गर्ने मसीको रङ पनि निलो नै थियो’, आयोगका प्रवक्ता पौडेलले भने, ‘चुनाव चिन्ह र स्वस्तिक छाप एउटै हुँदा मत गन्न समस्या भएको थियो। मत गन्न जुटेका कर्मचारीले पनि एकै रंग हुँदा समस्या भएको बताएपछि फरक गरिएको हो। यसमा कुनै दललाई प्रभावित पार्ने भन्ने कुनै कुरा होइन।’