प्रचण्ड र नारायणकाजीबीचको विवाद सतहमा, पार्टीबाट अलग हुनसक्ने

निरन्तर न्यूज
१७ फाल्गुन २०७८, मंगलवार ०९:४१

काठमडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित भएसँगै माओवादी केन्द्र फुटको संघारमा पुगेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विवाद सतहमा आएसँगै नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी भएको स्रोतले जनाएको छ ।

आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको विवाद सतहमा आएको हो ।

अध्यक्ष दाहालले सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठतर्फ लक्षित गर्दै वामदेव गौतम जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गरेका थिए । एमसीसी संसद्बाट पारित भएपछि त्यसलाई लिएर धेरै भावुक नहुन उनले आग्रहसमेत गरेका छन् ।

अध्यक्ष दाहालले भारतसँग भएको महाकाली सन्धिलाई स्मरण गर्दै त्यसबेला एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजेमा रोक्न नसक्ने उल्लेख गरेका हुन् । उनले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने बताएका हुन् ।

संसद्बाट एमसीसी पारित भएपछि नेता श्रेष्ठले आमदेशभक्त नेपाली जनताले आइतबारको दिनलाई ‘कालो दिन’का रूपमा लिने टिप्पणी गरेका थिए । एमसीसीलाई उनले राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन् । माओवादी केन्द्रका नेता श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मालगायतका नेताहरूले आइतबारको बैठकमा एमसीसी पारित गर्नुहुँदैन भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*