एमसीसी ‘सबै प्रधानमन्त्रीको पालामा अघि बढाइएको हाे’ : बाबुराम भट्टराई

निरन्तर न्यूज
१५ फाल्गुन २०७८, आईतवार १७:२०

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको सर्वोच्च संस्था संसद् ६ महिनादेखि बन्धक बनाइएकोमा जनतासँग क्षमायाचना गरेका छन् ।

गत २३ भदौदेखि संसद बैठकमा एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेकोप्रति इंगित गर्दै उनले संसद्लाई बन्धक बनाइएको भन्दै क्षमायाचना गरेका हुन् ।

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सत्य बोल्न आँट गर्दै आफू उभिएको भन्दै एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने बताए ।

सत्य बोल्न डराउन नहुने भन्दै उनले भने, ‘सबै प्रधानमन्त्रीको पालामा अघि बढाइएको हो । मेरो प्रधानमन्त्रीकालमा पनि अघि बढाइएको हो । तर  त्यतिखेर कानमा तेल हालेर बसेर अहिले विरोध गर्ने ? राजनीतिबाट सन्न्यास लिए हुन्छ । नेपालको लागि योग्य रहेका जानकारी आएपछि अघि सम्झौता प्रक्रिया अघि बढाइएको हो ।’

सम्झौताको भाषा केही घोच्ने खालका रहेको भन्दै उनले तर अन्तर्राष्ट्रिय भाषा प्रयोग भएको बताए । एमसीसी नेपालको हितमा रहेकाले अनुमोदन गर्नुपर्नेमा उनको जोड छ । अहिले केही साथीहरूले व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्न सहमत भएको सुनेको भन्दै उनले माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताप्रति व्यंग्य पनि गरे । उनले नेपाल अब सिंगापुरको बाटोमा अघि बढ्ने कि अर्को बाटोमा जाने भन्दै एमसीसीले देशको विकास मार्गमा लागौं भनेर सुझाव दिए ।

बाबुरामले खोक्रो राष्ट्रवादको नारा जपेर मात्र बस्न नमिल्ने बताए । उनले बिप्पा र बीआरआई सम्झौताबाट पुँजी र प्रविधि भित्र्याउनुपर्ने उल्लेख गरे । एमसीसी अलिकति अप्रिय भए पनि देशको पक्षमा रहेको दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*