आज प्रतिनिधिसभा बैठक, कार्यसूचीमा एमसीसीमाथिको छलफल

निरन्तर न्यूज
१५ फाल्गुन २०७८, आईतवार ०८:४५

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । सोही अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसी समावेश गरिएको छ ।

संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

यसअघि सरकारको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो ।

संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ ।

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक-एक सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*