काँग्रेस सभापतिका दाबेदार पराजुलीद्वारा उम्मेदवारी घोषणा
हेटौंडा/नेपाली काँग्रेस मकवापुरको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार आनन्दराम पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
शुक्रबार कार्यकर्ता भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गर्दै पराजुलीले आधिकारीक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । काँग्रेस संस्थापन पक्षका पराजुलीले आफ्नो प्रतिबद्धता, आगामी योजना र सभापतिमा अत्याधिक मत दिएर विजयी गराउन अनुरोध गर्दै उम्मेदवारी घोषणा गरेका थिए ।
उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै सभापतिमा बलिया दाबेदारको रुपमा अघि बढिरहेका पराजुलीले आफु सभापति निर्वाचित भएपछि पार्टीको विचार र जिल्लाको विकासलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘काँग्रेसले जनतामाझ आफ्नो पार्टीको विचार स्थापित गर्न आवश्यक छ ।’, उनले भने, ‘विचारसँगसँगै विकासलाई पनि ध्यानमा राखेर जनतामाझ विकास निर्माणलाई समेत तीब्रता दिनेतर्फ मेरो ध्यये रहनेछ ।’
उनले बर्षौंदेखि आफुले मकवानपुरमा काँग्रेस बृद्धि हुनुमा पार्टीको विचार र जिल्लाको विकासलाई सँगैसँगै अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । उनले आफुलाई सहर बजारदेखि कुना कन्दराका कार्यकर्ताले खोजेको बेलामा भेट्ने र उनीहरुको समस्या समाधानका लागि हरदम लागि पर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । पराजुलीले हेटौंडा उपमहानगरको मेयर बन्ने र पार्टी सभापतिको उम्मेदवार हुने विषयलाई लिएर भ्रम सिर्जना गर्नु गलत भएको र मेयर जनप्रतिनिधि हुने विषय र पार्टी सभापति विल्कुल फरक भएकोले जनतामाझ जाने र पार्टी नेतृत्वको बारे एउटै डालोमा हाल्न नमिल्ने धारणा राखे ।
‘मेयर हुने विषयलाई पार्टी सभापतिमा ल्याएर जोड्न मिल्दैन ।’ उनले भने, ‘पार्टीले योग्य उम्मेदवारलाई मेयरको उम्मेदवार बनाउने छ, त्यहाँ म मात्र हुन्छु भन्ने होइन, अहिले पार्टीको चुनाव भएकोले यतामात्र केन्द्रीत हुन जरुरी छ ।’ उनले आफु सभापति भए, पार्टी विस्तारलाई व्यापक जोड दिँदै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा काँग्रेसका उम्मेदवारलाई विजयी गराएर काँग्रेसको किल्ला बनाउने दृढता व्यक्त गरे ।
प्रदेश र केन्द्रका नेतागणका लागि सबै उम्मेदवार बराबरी भएकोले उहाँहरुले पार्टीको आन्तरिक चुनाव भएकोले सबैलाई एकै रुपमा नियाल्नेमा आफु विस्वस्त रहेको बताए । कार्यक्रममा पराजुलीले १४ बुँदै प्रतिबद्धतासमेत घोषणा गरेका थिए । उनले कार्यक्रममा एकताबद्ध सुदृढ र सबल पार्टी निर्माण, समावेशी स्वरुप र समावेशी प्रतिनिधित्वमूलक पार्टी निर्माण, तीनै तहको सरकार निर्माण, निर्वाचनमा निरन्तर क्रियाशील, योग्य र लोकप्रिय उम्मेदवारी, युवामैत्री काँंग्रेस निर्माणमा जुट्ने प्रतिबद्धता प्रतिबद्धता सार्वजनिक गरे ।
पराजुलीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा अग्रजहरुको पहिचानसहित उच्च सम्मान, भातृ तथा शुभेच्छुक संस्थाको योगदान अभिलेख, हाम्रो पहिचान राजनीतिसँग स्वरोजगार अभियान, काँग्रेसलाई मकवानपुरमा पहिलो पार्टी बनाउने अभियान, सक्रिय कार्यकर्ताको उल्लेखनीय बृद्धि, कार्यकर्ताको मनोबल उच्च राख्न कार्यकर्ता प्रशिक्षक कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।
पराज्ुलीले आफु सभापति हँुदा आर्थिक समृद्धिको लागि सुदृढ सुशासन, एकता समन्वय र सहकार्यका लागि लचकता सहितको अभियान र संगठन सुदृढिकरणका लागि विकास अभियान संचालन गरिने दाबी गरे । सभापतिमा पराजुलीको आधिकारीक उम्मेदवारी घोषणा भएपनि पदाधिकारीसहितको टिमको टुंगो लागेको छैन । टिममा पदाधिकारीका आकांक्षी धेरै भएका कारण सबैलाई समेटेर उम्मेदवारहरुको टुंगो लगाउनेबारे आन्तरिक छलफल भइरहेको छ ।
काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ का सभापति तथा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा काँग्रेस प्रदेशसभा क्षेत्र नं. १ (क)का सभापति सुशान्त श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति उत्सब इटेनी, पूर्व संघीय सभापति यतीराज सापकोटा, थाहा नगरपालिका उपमेयर खड़क गोपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सल्लाहकारद्वय भरत पराजुली, अशोक शाक्य, जिल्ला सदस्य भीम लामा, सुनिल दहाल, सुनिल अधिकारी, इश्वरलाल श्रेष्ठ, कृष्णप्रसाद दाहाल, मीरा स्यांगतान, अमृता थापा मगर, सूर्यबहादुर रुम्बा, हेटौंडा उपमहानगर सचिव सबिन न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।