जसपाले एमसीसीबारे शनिबार छलफल गर्ने
काठमाडौ । जनता समाजवादी पार्टीले एमसीसीको विषयमा भोलि शनिबार चल्ने बैठकमा छलफल गर्ने भएको छ ।
शुक्रबारको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल गरी केही निर्णय गरिएको छ ।
जसपाकी केन्द्रीय कार्यकारिणी समिति सदस्य शुशीला श्रेष्ठका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार तय गर्ने र चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको छ ।
उम्मेदवार तय दर्ता गाउँपालिका र नगरपालिकाको वडाको उम्मेदवार सम्बन्धित गाउँपालिका र नगरपालिका कमिटीलाई नै जिम्मा दिने, गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार जिल्ला समन्वय समितिले प्रदेश समितिलाई सिफारिस गर्ने र महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार पार्टी केन्द्रले नै टुंगो लगाउने निर्णय गरिएको श्रेष्ठले बताइन् ।
उम्मेदवारहरुबारे उत्पन्न हुने विवाद वा समस्या समाधान गर्नका लागि केन्द्रमा एउटा कार्यदल बनाउने निर्णय पनि गरिएको छ ।
एमसीसी, स्थानीय तहको निर्वाचन र पार्टीको विधान अधिवेशनका विषयमा छलफल गर्ने गरी शुक्रबारदेखि ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको हो ।