माओवादी केन्द्रले सरकार छाड्ने !

निरन्तर न्यूज
१२ फाल्गुन २०७८, बिहीबार १९:०७

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छाड्ने भएको छ । एमसीसी परियोजना संसदमा टेबल भएसँगै नैतिक दबाबमा रहेको रहेको माओवादी केन्द्रले अन्ततः सरकारबाट बाहिरिने तयारी गरेको हो ।

माओवादी केन्द्र कुनैपनि हालतमा संशोधनबिना एमसीसी पास गर्न तयार नभएपछि गठबन्धन फुटतर्फ गएको हो । यद्यपि फुटको औपचारिक घोषणा भने हुन बाँकी छ । माओवादी केन्द्रका एक नेताका अनुसार अब सत्ता गठबन्ध टिकाउन नसकिने अवस्थामा आफूहरु पुगेकोले सरकारबाट बाहिरिने तयारी भएको हो ।

बिहीबार भएको नेताहरुबीचको एकपक्षीय र बहुपक्षीय छलफलमा पनि नेताहरुले आ–आफ्नै अडान कायमै राखेपछि माओवादी केन्द्र सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।

बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच एमसीसी संशोधनबिना कुनै हालतमा स्वीकार गर्न नसक्ने निष्कर्ष निकालेका थिए ।

यो निष्कर्षपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । त्यसक्रममा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसीमा सहमति जुट्न सकेन । त्यसपछि दुवै नेता आ आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेका हुन् ।

बिहीबार देउवा–प्रचण्डको छलफलपछि गठबन्धनमा रहेका दलहरु आआफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बताए ।

एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र आफूहरु संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेपछि त्यो अवस्था आएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । लगत्तै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले पछिल्लो वस्तुस्थितिको बारेमा एमाले नेताहरुलाई जानकारी गराएका थिए ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलेको छ ।

प्रचण्डले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले खुलासा गरेका हुन् ।

अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीसँगको सम्झौता संसदीय प्रक्रियामा प्रवेश गरेपछि दुई नेता आ–आफ्नो पार्टीका अरु सहकर्मीसहित भेटवार्तामा रहेका छन् ।

तत्कालीन नेकपामा एउटै पार्टीमा भएका ओली–प्रचण्डबीच पार्टी विभाजनपछि तिक्तापूर्ण सम्बन्ध रहँदै आएको थियो । एमसीसीका कारण नेपाली कांग्रेससँग सहकार्य गर्न नसकिने निष्कर्षमा पुगेका प्रचण्डले ओलीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव अघि सारेका हुन् ।

‘प्रचण्डले ओलीलाई प्रधानमन्त्री भइदिनुस्, हामी सहयोग गर्छौं भन्ने प्रस्ताव गर्नुभएको छ,’ भट्टराईले भने, ‘अहिले हामी प्रधानमन्त्री खोज्ने भन्दापनि देशको निकास कसरी दिने भन्ने छ।’

तर, प्रचण्डको प्रस्तावमा त्यति विश्वास गर्ने आधार नभएकाले पत्याउने अवस्था नरहेको भट्टराईको भनाइ छ। कांग्रेससँग गठबन्धन गरेर एमालेलाई एमसीसी पारित गर्न त्यति सजिलो नभएको बताउँदै भट्टराईले छलफल भइरेहेकाले यसै भन्न नसकिने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*