एमसीसीबारे कांग्रेसले गठबन्धनसँग कुरै नगर्ने, एमालेसँग निर्णायक वार्ता हुने
काठमाडौं । संसद्मा टेबुल भएको एमसीसी पारित गर्न गठबन्धनका दल तयार नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग नजिकिएका छन् ।
सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) ले एमसीसी परित गर्न साथ नदिने भएपछि देउवा गठबन्धनसँग रुष्ट भएका छन् । देउवाले गठबन्धनसँग अब कुरा नगर्ने र एमालेसँग मिलेर एमसीसी परित गर्ने तयारी गरेका छन् ।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले दिएको जानकारीअनुसार आज साँझ ७ बजे एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री देउवाले एमसीसीकाे विषयमा निर्णयक वार्ता गर्दैछन् ।
‘आज दिउँसो संसद् भवनमा ओलीजीसँग एक चरण वार्ता भइसकेकाे छ । आजै साँझ ७ बजे पुनः वार्ता गर्ने निर्णय भएको मैले बुझेको छु,’ प्रवक्ता डा.महतले भने । एमाले अध्यक्ष ओलीसँगकाे वार्ता सकारात्मक ढंगले अघि बढेकाले त्यसलाई निरन्तरता दिएकाे हाे ।
संसद्मा पेश भएकाे एमसीसीकाे सत्ता गठबन्धनकै दलले सडकबाट विराेध गरेपछि बिहीबारकाे संसद् बैठक सरकारकाे आग्रहमा स्थगित गरिएकाे थियाे । संसद् बैठक भाेलि शुक्रबार बस्दैछ । त्यसअघि नै एमालेसँग कुरा मिलाउने प्रयासमा सरकार र कांग्रेस जुटेकाे छ ।