नेपालमा एमसिसी विवादबारे पहिलो पटक बोल्यो चीन
काठमाडौ । नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे भइरहेको विवादमा उत्तरी छिमेकी चीनले मुख खोलेको छ। चीनले विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार्न बाध्य बनाउन अमेरिकाले नेपालमाथि धम्की कुटनीति सुरु गरेको आरोप लगाएको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले नेपालमाथि ‘धम्की कूटनीति’ शुरू गरेको बताएका हुन्। प्रवक्ता वाङले नेपालबारे अमेरिकाको यो कदमको चीनले प्रतिरोध गर्ने पनि चेतावनी नियमित पत्रकार सम्मेलनमा दिएका छन्।
केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका थिए। फोन कुराकानीका क्रममा प्रचण्डलाई लुले एमसिसी पारित नभए चीनका कारण नभएको ठान्ने बताएको समाचार प्रकाशित भएका थिए।
अमेरिकी राज्य परिषदका प्रवक्ताले हाल नेपालले फेब्रुअरी २८ तारिख सम्म मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई अनुमोदन गरिसक्न भन्दै यदि पारित नगरिए यसबाट नेपालसँगको सम्बन्ध प्रभावित हुने भएको कुरा बताएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन १६ गतेसम्म कुनै हालतमा एमसीसी पास गर्नैपर्ने अडान लिएपछि नेपालका सत्तारुढ पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ।
प्रवक्ता वाङले नेपालसँग मैत्रीपूर्ण र निकट सम्बन्ध रहेको बताउँदै विकासमा पनि साझेदारी गरिरहेको जनाएका छन्। उनले नेपाली जनतालाई आफ्नो स्वतन्त्र विकासको बाटो छान्न समर्थन दिइरहेको बताउँदै नेपालले कसैको दबाबमा नपरी राष्ट्र र जनताको हितका लागि सही निर्णय लिने कुरामा चीनले सधैँ समर्थन दिने उल्लेख गरेका छन्।
यस्तै शुक्रबार मात्रै नेपालमा एमसीसीविरुद्ध बढिरहेको प्रदर्शनलाई लिएर अमेरिकी राजदूत र्यान्डी बेरीले कुनै पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने बताएका छन्।
उनले लेखेका छन् ‘हामी एमसीसीसहितका विषयमा वास्तविकतामा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौँ’, उनले भनेका छन्, ‘आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा अन्तर्निहीत कुरा हो। मानिसहरूलाई शान्तिपूर्वक आफ्ना विचारहरू आदानप्रदान गर्न अनुमति दिनुपर्छ। तर हिंसा र हिंसालाई उक्साउने कुरा कदापि स्वीकार्य छैन।’