राष्ट्रपतिद्वारा ५१३ जना कैदीलाई आममाफीको घोषणा
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५१३ जना कैदीहरुलाई आममाफीको घोषणा गरेकी छिन् । नेपालको संविधानको धारा २७६ बमोजिम उनले फुर्वा शेर्पासहित ५०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहाको घोषणा गरेकी हुन् ।
यस्तै उनले मन्त्रिपरिषद्को सिफारिसमा थप १२ जनासमेतलाई आममाफीको घोषणा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आममाफी पाउने थप १२ जनामा आङनिमा शेर्पालगायत रहेका छन् ।
सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।
यसैगरी विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, सर्वोच्च अदालतको मिति २०७७ साउन १९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैद कट्टा) (पहिलो संशोधन) नियमावली, २०७६ को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिस,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७८ फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फूर्वा शेर्पासमेत ५०१ (पाँच सय एक) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ।’