मन्त्रीपरिषद बैठकले के के निर्णय गर्‍यो

निरन्तर न्यूज
५ फाल्गुन २०७८, बिहीबार १९:१७

काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको ३ दरबन्दी थप्ने निर्णय गरेको हो।

यससँगै नेपाल प्रहरीमा एआईजीको दरबन्दी संख्या ८ पुगेको छ। दरबन्दी थपका लागि संगठन व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरेर गृह मन्त्रालयमा पठाएको थियो। गृहमन्त्रालयले अघिल्लो सोमबार नै एआईजी थपको प्रस्ताव मन्त्री परिषदमा पेश गरेको भए पनि निर्णय भने भएको थिएन।

थपिएको दरबन्दी मानव श्रोत एवम् प्रशासन विभागलाई अलग गरेर एउटा, केन्द्रीय अनुसन्धान ब्युरोमा र प्रदेश समन्वय विभागमा रहनेछन्। एआईजीका लागि डीआईजीहरू ईश्वरबाबु कार्की र वसन्त पन्तसहित पछिल्लो ब्याची धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्त लामा र रवीन्द्र धानुक मुख्य प्रतिस्पर्धी हुन्।

यस्तै नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका अध्यक्ष भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया थालेको थियो। सरकारले सुरुमा पाँच जना छनोट गरेको थियो।

तीमध्ये पनि तीन जनाको नाम सिफारिस गरेको थियो। गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल अन्तिम तीन जनामा परेका थिए । यीमध्ये हमाललाई बोर्ड अध्यक्ष नियुक्ति गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो । ढुंगानालाई पदबाट हटाएपछि नयाँ अध्यक्ष नियुक्ति गर्न बनेको छनोट समितिमै लामो समय विवादित बन्यो ।

यस्तै सरकारले सहसचिव मुकुन्द निरौलालाई सचिवमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवमा बढुवा गरेको हो। हालै बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय निरौला, विनोदप्रकाश सिंह र गोपी खनाललाई सचिव पदमा बढुवाका लागि सिफारिस गरेको थियो। निरौलालाई वरिष्ठताका आधारमा बढुवा गरिएको हो।

यस्तै सरकारले नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराईलाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अदालतले ठगी मुद्दामा कैद र जरिवाना ठहर गरेको व्यक्तिलाई नराख्न वनमन्त्रालयले गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले भट्टराईलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*