काठमाडौमा बन्दको प्रभाव: २३ बन्दकर्ता पक्राउ

निरन्तर न्यूज
४ फाल्गुन २०७८, बुधबार १०:३७

काठमाडौं । एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बन्दले लामो दूरीमा चल्ने गाडी भने प्रभावित भएका छन् ।

काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए ।

पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत छन् ।

गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरीतका उल्लेखित गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ ।’ गृहमन्त्रालयले भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*