जसपामा राईलाई कार्यकारी अध्यक्ष बनाउन कसरत, अध्यक्ष उपेन्द्र मौन
काठमाडौँ । जनता समाजवादी पार्टीमा तीन अध्यक्षमध्ये रिक्त एक पदमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्ने कसरत सुरु भएको छ । पार्टीमा विवाद चर्किएपछि जसपाका शीर्ष नेताबीच छलफल भएको हो ।
अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राई, राजेन्द्र श्रेष्ठ र कार्यकारिणी सदस्य महिन्द्रराय यादवबीच छलफल भएको हो । वरिष्ठ नेता महन्थ ठाकुरले पार्टी छोडेर लोसपा गठन गरेपछि ‘क्लस्टर’अनुसार तीन वटा अध्यक्ष पदमध्ये एउटा रिक्त छ । पार्टीको विधानअनुरुप समावेशी चरित्रको नेतृत्व बनाउनु पर्ने विषयलाई लिएर छलफल गरिएको पार्टीका कार्यकारिणी सदस्य प्रशान्त सिंहले बताए ।
बैठकमा राईलाई जनजातिको तर्फबाट कार्यकारिणी अध्यक्ष बनाउने प्रस्तावमाथि छलफल भएको थियो । जसमा परिषद् अध्यक्ष भट्टराई, महिन्द्र र राईले समावेशी नेतृत्वमा सहमति जनाएका थिए भने श्रेष्ठले बहुअध्यक्ष प्रणाली असफल हुने तर्क राखेका थिए । अध्यक्ष यादवले भने बैठकमा उठेका एजेन्डामा कुनै प्रतिक्रिया नजाएको सदस्य सिंहले बताए । पार्टीलाई समावेशी बनाउन तीन वर्षदेखि मौखिक रुपमा अध्यक्ष यादवलाई आग्रह गर्दै आए पनि कार्यान्वयन भएको थिएन । जसका कारण पार्टीमा आन्तरिक विवाद सुरु भएको थियो । विवादका कारण पार्टी फुटको संघारमा पुगेको थियो ।
सिंहले राई जनजाति समुदायको भएकाले अध्यक्षमा राख्दा जसपा पूर्णरुपमा समावेशी हुने बताए । ‘अध्यक्षमा भट्टराईजी आर्य, अशोक राई जनजाति र यादव मधेसको प्रतिनिधित्व गर्नुहुन्छ’, उनले भने, ‘यसले पार्टीलाई साझा चरित्रको बनाउने थियो ।’
पार्टीमा व्यक्तिविशेष भन्दा पनि समावेशी एजेन्डाको सम्बोधन हुनु पर्नेमा जसपाका कार्यकारणी सदस्य मोहम्मद इस्तियाक राईले सुनाए । फरक र वैकल्पिक पार्टीको चरित्र देखाउन पनि समावेशी हुनै पर्ने उनको अडान छ । नेता राईले भट्टराई र यादवबीच विवाद मिल्नु पर्ने धारणा राखेका छन् । उनी भन्छन्, ‘लोकतान्त्रिक पद्धतिमा बहस हुन्छ, छलफल हुन्छ अनि निष्कर्ष निस्किन्छ ।’
बैठकमा अध्यक्ष यादवको कार्यशैलीमाथि आलोचना भएको थियो । यादवले मन्त्रिपरिषद्मा सहमतिबिना मन्त्रीहरुको नाम चयन गर्नेदेखि मनोमानी ढंगले काम गरेको आरोप लागेको थियो । पार्टीका एक कार्यकारिणी सदस्यका अनुसार बैठकमा अध्यक्ष यादव मौन बसे । उनले पार्टीको मर्मअनुसार समावेशी नबनाएसम्म बहस चलिरहन् । यद्यपि अन्तिममा उपाय लागेन भने केन्द्रीय समितिको बैठक बसेर बहुमतले एजेन्डा पास गराएरै लाने उनले सुनाए ।
तीन वर्षदेखि समावेशी पार्टी बनाउने कुरा उठे पनि यादव बैठक नगरी पन्छिँदै आएका छन् । साथै, पार्टीमा कामको बाँडफाँड नहुँदा पार्टी काम प्रभावित भएको नेताहरुको भनाइ छ ।
बैठकको छलफलमा वरिष्ठ नेता राईले पार्टीमा समावेशी हुनुपर्नेमा जोड दिए । उनले पार्टी एकजुट बनाउनमा सबै नेतृत्व गम्भीर हुनुपर्ने बताए । संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टीमा उठेका असन्तुष्टिलाई सुल्झाउन जिम्मेवार हुन अध्यक्ष यादवलाई ध्यानाकर्षण गराएका थिए । यादवले उठेका विषय छलफल गरेर केन्द्रीय समितिमा पेस हुने बताएका थिए । इकान्तिपुरबाट साभार ।