एक बिहान देउवा भेट्न प्रचण्ड र माधव पुगे बालुवाटार
काठमाडौं। सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।
विहान ८ बजेपछि सुरु भएको छलफल जारी रहेको हो। आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि विकसित घटनाक्रम,एमसीसी, संसद सुचारु गर्ने विषय र स्थानीय तहको निर्वाचनबारे तीन नेताबीच छलफल भइरहेको जनाइएको छ।
सोमबार सभामुखले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू कार्यकारी अध्यक्ष भएको बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यथास्थितिमा एमसीसी पास नगर्ने निर्णय गरेका कारण आफूले नैतिक रुपमै साथ दिन नसक्ने बताएक थिए ।
एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार प्रचण्डले एमसीसीका कतिपय बुँदामा सहमति हुन नसक्ने बताएका थिए । उनले भनेका थिए, ‘नेकपा हुँदा नै पार्टीले नै निर्णय गरेको हो, जस्ताको तस्तै अगाडि बढाउन हुँदैन ।’
यद्यपि दलहरुबीच सहमति हुँदा निकास दिन सकिने भन्दै प्रचण्डले के निकास हुनसक्छ भनेर सहमति खोज्नुपर्ने बताएको श्रेष्ठले जानकारी दिए ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पहिले संसद खुल्नुपर्ने त्यसपछि एमसीसीमा राष्ट्रिय सहमति जुटाउन पहल गर्नुपर्ने पार्टीको धारणा रहेको बताए ।