छरिएर रहेका माओवादीहरुलाई एकताबद्ध हुन प्रचण्डको आग्रह
काठमाडौ । आज २७औं जनयुद्ध दिवस, यस अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिँदै छरिएर रहेका माओवादीलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
अध्यक्ष प्रचण्डले २७ औं जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएको बताएका छन्।
अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गरे। सन्देशमा भनिएको छ, ‘परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएमात्रै जनयुद्ध दिवस मनाउनुको अर्थ, महत्व र औचित्य रहन्छ। नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको छ। नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ। जनयुद्धको जगमा सम्पन्न भएको २०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको हो। संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो।’
माओवादीले १० वर्षे सशस्त्र युद्व सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गर्दछ।