ओली भेट्न अमेरिकी राजदुत पुगे बालकोट
काठमाडौ । एमसीसीको चर्चा चलिरहेको बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भेट्न नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी बालकोट पुगेका छन् ।
स्रोतका अनुसार राजदूत बेरीले ओलीलाई भक्तपुरको बालकोटस्थित निवासमै गएर भेट गरेका छन्। पूर्वप्रधानमन्त्री ओली र राजदूत बेरीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो।
अमेरिकी सहयोग परियोजना मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच मतान्तर भइरहँदा अमेरिकी राजदूत बेरीले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्। तर, वार्तामा के-के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।
मंगलबार बेलुका स्थगित गरिएको संसद बैठक बोलाउनुअघि राजदूत बेरी र ओलीबीचको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।
एमालेले एमसीसी संसदबाट अनुमोदन गर्न समर्थन जनाएपनि पहिले सत्तारुढ गठबन्धनको धारणा आउनुपर्ने बताउँदै आएको छ।